पीडा, वेदना र भोगाईका मानवीय अनुभूतिहरुको अभिब्यक्ति बन्न नसकेर मनभित्र गुम्सिएर रहेका भावनात्मक छालहरुले जब उद्धेलित हुने अनुकूल अवसर पाउँछ, छालहरुले भीड पनि भन्दैन, सार्वजनिक स्थल पनि भन्दैन, स्वतस्फूर्त रुपमा पोखिएर बग्न थाल्छन् र मनलाई हल्का बनाईदिन चाहन्छन् ।
समाज यस्तै छ, खुशी र प्रगतिमा साथ दिन सबै आउँछन्, जब जिन्दगीमा अनपेक्षित रुपमा हुने दुर्घटना घट्न पुग्छ, तव उसलाई साथको आवश्यकता परेको बेलामा तिनै खुशीमा साथ दिने हातहरु हिच्किचाउन थाल्छन् । अझ उल्टो पीडामाथि पीडा थप्न पनि पछि पर्दैनन् । जिन्दगीले पढाउने समाजको यस किसिमको पाठको समीक्षा गरिरहदा कम उमेरमै खेलकुद जगतमा उत्कृष्ट प्रगति गर्न सफल नेपालका महिला राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ्गभित्रको भावुकता पोखिन थाल्दा कता–कता अनायासै म पनि पोखिएछु । सिपोरा गुरुङ्ग, जसले सानो उमेरमै खेलकुद क्षेत्रमा राष्ट्रलाई उल्लेखनीय योगदान दिईन् । खेलकै दौरानमा भएको दुर्घटनामा खुट्टामा लागेको चोटमा राष्ट्रको उदासीनता वा वेवास्ताले दिएको सिपोराभित्रको पीडा बोल्दा सिपोराका शब्दहरु कम अर्थपूर्ण थिएनन्, “राष्ट्रको लागि दिएको योगदानको कदरस्वरुप राष्ट्रले मलाई पीडाबाहेक के दियो ?”